Press Releases


०७२ मङ्सिर १८ गते

प्रेस विज्ञप्ति

मधेसी मोर्चाका कार्यकर्ताले मङ्सिर १७ गते सर्लाहीको जुटपानीमा राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरी जलाउनुका साथै गाडीमा रहेका आयोगका कर्मचारीलाई दुर्व्यवहारसमेत गरेको घटनाको हामी भर्त्सना गर्दछौँ ।

सर्लाहीको नवलपुरमा मधेसीमोर्चा र चुरेभावरको कार्यक्रम भएकाले त्यसमा हुने सम्भावित मानवअधिकार हनन्का घटनाबारे अनुगमन गर्न गएको टोलीमाथि मोर्चाका कार्यकर्ताले कुटपिट गर्नुका साथै उनीहरू चढेको बा७च ७४७६ नम्बरको गाडीसमेत तोडफोड गरी आगो लगाएर पूर्ण रूपमा क्षति पुर्‍याएको अनुगमनमा संलग्न मानवअधिकार आयोगको टोलीले जनाएको छ । घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले 'हामी मानवअधिकार 'सधिकार' केही पनि जान्दैनौँ' भन्दै गाडी तोडफोड र आगजनी गरेको र क्यामरालगायत कागजपत्र जलेर नष्ट भएको जनाइएको छ । मोर्चा कार्यकर्ताको आक्रमणबाट टोलीमा सहभागी मन्दिरा श्रेष्ठ, भीवा ढुङ्गानालगायतलाई चोट लागेको छ ।

सशस्त्र द्वन्द्वका कठिन समयमा पनि मानवअधिकार रक्षक तथा उनीहरूका क्रियाकलाप निर्वाध सञ्चालन हुने गरेका थिए । तर, विगत तीन महिनाभन्दा बढी समयदेखि तराई मधेशमा जारी आन्दोलनका क्रममा पत्रकार तथा मानवअधिकारकर्मीहरू आन्दोलनकारीको निशानामा पर्नुले आन्दोलनरत पक्ष मानवअधिकार रक्षकहरूप्रति अनुदार रहेको हाम्रो निष्कर्ष रहेको छ । आन्दोलनकारीले एम्बुलेन्स, औषधी बोकेका गाडी तथा अति अत्यावश्यक सेवाका गाडीमाथि आक्रमण तथा आगजनी गरेको घटनाहरू पनि उल्लेख्य मात्रामा सार्वजनिक भएका छन् ।

मानवअधिकार रक्षक तथा मानवअधिकार संस्थाका गतिविधि प्रति लक्षित यस्ता कुकृत्यहरू अन्त्य गर्न तथा मानवअधिकारको सम्मान हुने वातावरणको ग्यारेण्टी गर्न हामी आन्दोलनकारी पक्षसँग आग्रह गर्दछौँ । यसैगरी, घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारसँग माग गर्दछौँ ।

 

सुबोधराज प्याकुरेल
अध्यक्ष

Links