Press Releases


०७२ पुस ६ गते

 

जनताको जिउधनको सुरक्षा गर

रौतहटको सदरमुकाम गौरमा प्रहरी र प्रदर्शनकारीबीच पुस ५ गते दिउँसो झडप हुँदा प्रहरीको गोली लागी तेजापाकड गाविस-१ घर भई हाल जुद्ध उच्च मावि गौरमा कक्षा १० मा अध्ययनरत १७ वर्षीय तवरेज आलमको मृत्यु भएको घटनाको हामी निन्दा गर्दछौँ । सदरमुकाम गौरस्थित वीपी चोकमा दिउँसो प्रदर्शनकारी र प्रहरीबीच झडपको क्रममा प्रहरीले प्रहार गरेको गोली आलमको कोखामा लागेको थियो । मृतक आलमप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवाजनप्रति समवेदना व्यक्त गर्दछौँ ।

 

प्रहरीलाई लक्षित गरी ढुङ्गा, सिसाका बोतललगायतले प्रहार गर्दै प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालयतर्फ बढ्न लागेकाले गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ । प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक प्रताप पौडेल, वीरेन्द्र पासवान, सई मदन ठाकुरलगायत २३ जना सुरक्षाकर्मी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

 

जनताको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । कुनै पनि प्रकारका प्रदर्शनहरू नियन्त्रण तथा भिडलाई तितरबितर गर्न पानीको फोहोरा तथा अश्रुग्याँस प्रहार गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको हामी स्मरण गराउन चाहन्छौँ । विगत चार महिनाभन्दा बढी समयदेखि तराई मधेसमा जारी आन्दोलनका क्रममा ४८ जनाको ज्यान गइसकेको छ भने देशभरकै जनजीवन कष्टकर भएको छ । जस्तोसुकै असहमतिको समाधान वार्ता र संवाद नै भएकाले यसतर्फअग्रसर भई सार्थक परिणाममुखी वार्ता गर्न सरकार तथा आन्दोलनरत मधेसी मोर्चासँग विनम्रतापूर्वक आग्रह गर्दछौँ ।

 

 

सुबोधराज प्याकुरेल

अध्यक्ष

Links