Press Releases


मिति- २०७२ माघ ८ गते

प्रेस विज्ञप्ति

 

प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच माघ ७ गते मोरङको रङ्गेलीमा भएको झडपमा प्रहरीले प्रहार गरेको गोली लागेर रंगेली नपा- ३ की ६२ वर्षीया द्रौपती चौधरी, बरडंगा गाविस-२ का ४५ वर्षीय महादेव ऋषिदेव र डायनिया गाविस-९ का २५ वर्षीय सिरु माझीको मृत्यु भएको छ । रङ्गेली नगरपालिकामा युवा सङ्घ नेपालले आयोजना गरेको मधेश जागरण अभियानसम्बन्धी आमसभालाई मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्न खोज्ने क्रममा सो झडप भएको थियो । घटनामा मृत्यु भएकाहरू प्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।

  

प्रहरीले चलाएको गोली लागेर रङ्गेली नपा-७ का ३५ वर्षीय जितेन्द्र मण्डल, सोही नपा-९ का ५० वर्षीय सत्यनारायण साह, सोही ठाउँका ३५ वर्षीय जगरनाथ साह, रङ्गेली नपा-४ का २६ वर्षीय सुवोध मण्डल, सोही नपा-७ का श्रवणकुमार मण्डल र सिजुवा गाविस- ८ का ४० वर्षीय प्रकाश ढकाललगायत घाइते भएका छन् । विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछौँ ।

 

आफ्ना कार्यक्रमहरू शान्तिपूर्ण तबरले सञ्चालन गर्न तथा भिन्न विचार तथा अभिव्यक्ति स्वतन्त्रताका अधिकारका बारेमा सचेत रहन मधेसी मोर्चालाई आग्रह गर्दछौँ । शान्ति सुरक्षा कायम गर्दा धनजनको क्षति हुन नदिन हरसम्भव उपाय अवलम्बन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ । राजनीतिक समस्याको समाधान हिंसात्मक तवरबाट होइन, शान्तिपूर्ण राजनीतिक संवादबाट खोजी गरिनुपर्छ । यथाशीघ्र वार्ताद्वारा समस्याको हल गर्न राज्य र आन्दोलनरत पक्षलाई पुनः अनुरोध गर्दछौँ ।

 

आफ्ना अधिकारको उपभोग गर्दा अरुको पनि त्यस्तै अधिकार हुन्छन् भन्ने कुरातर्फ मधेसी मोर्चाले ख्याल नगरेको मात्रै होइन हिंस्रक आक्रमण गर्ने र अरुलाई निषेध गर्ने नीति लिएकोतर्फ हाम्रो ध्यानाकर्षण भएको छ । रङ्गेली घटनामा राजनीतिक कार्यकर्ताहरूको घरघरमा तोडफोड तथा आगजनी गर्ने आपराधिक कार्य भएका छन् । राजनीतिक संवाद चलिरहेको अवस्थामा हिंसा र दङ्गा मच्चाउने तत्वहरूबाट सावधान रही तार्किक, पारदर्शी र औचित्यपूर्ण तवरले निकास खोज्ने काममा धैर्यतापूर्वक संलग्न रहन हामी सबै नेतृत्व वर्गलाई अपिल गर्दछौँ । रङ्गेली घटनाको न्यायिक छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितहरूलाई तत्काल राहतको प्रबन्ध गर्न जोडदार माग गर्दछौँ । 
 

 

सुबोधराज प्याकुरेल

अध्यक्ष

Links