Press Releases


मितिः २०७३ असार २० गते

 

प्रेस विज्ञप्ति

 

गएको शुक्रबार (असार १७ गते) ललितपुरको गोदावरी नगरपालिकाको टौखेलमा रहेको पुष्पाञ्जली बोर्डिङ स्कूलसँगैको पर्खाल लडेर सो विद्यालयमा अध्ययनरत कृपा राई र अञ्जना पुनमगरको मृत्यु र २० जना विद्यार्थी घाइते भएको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

 

उक्त घटनामा ज्यान गुमाएका अवोध दुवै बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

 

घटना विवरणअनुसार अविरल वर्षाका कारण विद्यालय भवन नजिकै रहेको प्लटिङमा लगाइएको पर्खाल भत्किएर कक्षा कोठामा पढ्दै गरेका विद्यार्थीको मृत्यु र हताहत भएका थिए ।

 

उक्त घटनालाई सामान्य प्राकृतिक प्रकोपका रूपमा नलिई घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी उपर कारबाही गर्न हामी जोडदार माग गर्दछौं ।

 

विद्यालयमा पढ्न गएका बालबालिका असुरक्षित हुँदा अन्य कैयन अभिभावकसमेत चिन्तित बनेका छन् । कमसल विद्यालय भवनमा कक्षा सञ्चालन गरिएको तथा विद्यालय भवनसँग जोडिएको प्लटिङको पर्खाल मापदण्डअनुसार भए नभएकोलगायतका विषयमा छानबिन गरी दोषीलाई कारबाही गरेर आमअभिभावकलाई राज्यको जिम्मेवारी उजागर गर्न हामी सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।

 

 

 


विजयराज गौतम

कार्यकारी निर्देशक

Links